बाँकेको सिधनिया घाटबाट चोरी भएको मोटरसाइकल अझै फेला परेन, पीडितले भने— “प्रहरी प्रशासनको कमजोरी स्पष्ट छ”

२०८१ चैत्र २, शनिबार २१:०२

२, चैत २०८१

बिज्ञापन

बाँके ।बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी कपिल शाहको मोटरसाइकल २०८१ फागुन ५ गते चोरी भएको थियो। तर, हालसम्म पनि प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। झन्, शाहले आफ्नो मोटरसाइकलका केही पार्ट्स अर्को मोटरसाइकलमा प्रयोग भएको देखेपछि पनि कानुनी कारबाही अघि नबढ्नु दुःखद् र लज्जास्पद भएको उनले बताएका छन्।

बिज्ञापन

शाह आफ्ना जिजुबुवाको मलामी जाँदा राप्ती सिधनिया घाटमा गएका थिए। दिउँसो करिब ३ बजेतिर उनको पल्सर २२० (भे ११ प १३८९) चोरी भएको थियो। चोरीपछि उनले प्रहरीमा उजुरी दिएका थिए। तर, अनुसन्धानमा ढिलाइ भइरहेको उनी बताउँछन्।

“मेरो मोटरसाइकलको पाटपुर्जा लागेको सामा चोरले २२० पल्सर लु ९५ प ४२६१ नम्बरको मोटरसाइकलमा प्रयोग गरेको अवस्थामा आफै भेटाए र प्रहरीलाई बुझाए । तर, प्रहरीलाई बुझाउँदा पनि राम्रोसँग अनुसन्धान भइरहेको छैन। सिसी क्यामेरा फुटेज हेर्ने प्रक्रिया पनि ढिलो भइरहेको छ,” शाहले भने।

बिज्ञापन

 

बाँकेमा पछिल्ला वर्षहरूमा सवारी चोरीका घटना बढ्दै गएका छन्। चोरी भएका बाइकहरू प्रायः भारतको सीमावर्ती क्षेत्रमा लगेर बिक्री गरिन्छन् भन्ने गुनासो व्यवसायीहरू र सर्वसाधारणबाट उठ्ने गरेको छ। नरैनापुरतिर झण्डै ९५% इन्डियन नम्बर प्लेट भएका बाइक सञ्चालनमा छन्, जसले चोरीको घटनालाई झनै बढावा दिएको शाह बताउँछन्।

“रोड पर्मिट लिएर आएका बाइक गाडीलाई कुनै अवरोध छैन। तर, अनुमति नलिई अवैध रूपमा चलेका सवारीहरू नियन्त्रण गर्न प्रशासन चुकेको छ। खुलेआम भारतीय बजारबाट चोरीका बाइक नेपाल ल्याएर बेच्ने काम भइरहेको छ। नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मात्र चेकिङ गरेर हुँदैन, सीमावर्ती क्षेत्रमा कडाइ गर्नुपर्छ, यसरि खुल्ला गर्दा देशलाई राजस्व घाटा भएको छ” उनले भने।

शाहले चोरी नियन्त्रण गर्न नरैनापुरतिर कडा जाँच गर्नुपर्ने माग गर्दै भने, “के प्रहरी प्रशासन कसैको दबाबमा छ? हजारभन्दा बढी अवैध सवारीसाधन बाँकेमा खुलेआम चलिरहेका छन्। चोरी भएका बाइक पनि तीमध्ये कतिपय हुन सक्छन्। यदि पीडितले आफैंले खोज्नुपर्छ भने प्रशासन किन चाहियो?”

यस विषयमा बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, “हामीले विभिन्न समयमा चोरी भएका केही बाइक र स्कुटर फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइसकेका छौँ। तर, शाहको मोटरसाइकल चोरी गर्ने समूहको खोजी अझै जारी छ। छिट्टै समाधान हुन्छ।”

तर, पीडित शाह प्रहरीको अनुसन्धान प्रक्रियाबाट असन्तुष्ट छन्। “यदि प्रहरी प्रशासनले गम्भीर रूपमा अनुसन्धान गरेमा मेरो बाइक भेट्न गाह्रो पर्ने थिएन। यसरी ढिलाइ हुनु आफैंमा कमजोरीको संकेत हो।”

बाँकेमा चोरीका घटनामा वृद्धि भएसँगै नागरिकहरूले सवारी सुरक्षामा ध्यान दिन प्रशासनलाई आग्रह गरेका छन्। यदि शीघ्र सुधार नभएमा चोरीका घटनाहरू झन् बढ्ने जोखिम छ।

 

२०८१ चैत्र २, शनिबार २१:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर