लुम्बिनी प्रदेश सरकार विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य

२०८१ मंसिर १७, सोमबार २०:०३

१७, मंसिर २०८१

बिज्ञापन

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा विद्यमान स्वास्थ्य समस्याहरू समाधान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सहकार्य गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ।

बिज्ञापन

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरीमा डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाण्डव नेतृत्वको टोलीसँगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, र नसर्ने रोगजस्ता चुनौतीहरूको समाधानको लागि डब्ल्यूएचओको साथ आवश्यक रहेको बताउनुभयो।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “विश्व स्वास्थ्य संगठनले नेपाल र लुम्बिनीको स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दछु। आगामी दिनमा पनि स्वास्थ्यका कमजोर सूचकहरू सुधार गर्न डब्ल्यूएचओसँग सहकार्य गरेर अघि बढ्न जरुरी छ।” उहाँले प्रदेश सरकारको एक्लो प्रयासले यी समस्याहरू समाधान गर्न नसकिने बताउनुभयो।

बिज्ञापन

स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले डब्ल्यूएचओसँग मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारका लागि आगामी दिनमा थप सहकार्य गर्न आग्रह गरिएको जानकारी दिनुभयो। डब्ल्यूएचओले हाल खोप अभियान र स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको छ।

भेटमा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, र मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाललगायत सहभागी हुनुहुन्थ्यो।

डब्ल्यूएचओ र लुम्बिनी प्रदेश सरकारको सहकार्यले प्रदेशका स्वास्थ्य समस्याहरू समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

२०८१ मंसिर १७, सोमबार २०:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर